फाहियान, जसलाई फा-हियान वा फा-जियान पनि भनिन्छ, चौथो र पाँचौं शताब्दीका एक प्रसिद्ध चिनियाँ बौद्ध भिक्षु तथा यात्री थिए। उनले बौद्ध ग्रन्थहरूको खोजी गर्दै नेपाल, भारत, श्रीलंका, र जावा जस्ता प्रमुख बौद्ध सभ्यताका केन्द्रहरूको यात्रा गरे। बुद्ध धम्मलाई चीनमा फैलाउन फाहियानको यात्राले महत्त्वपूर्ण भूमिका खेलेको छ। उनका अनुभव र योगदानले नेपाल, भारत, र अन्य बौद्ध राज्यहरूको इतिहास र समाजलाई बुझ्न अद्वितीय स्रोत प्रदान गरेको छ।
फाहियानको प्रारम्भिक जीवन
फाहियानको नामको अर्थ “धम्म गुरु” हो। ‘फा’ को अर्थ धम्म र ‘हियान’ को अर्थ गुरु हुन्छ। फाहियानको जन्म सन् ३३७ मा चीनको उयाङ भन्ने ठाउँमा भएको मानिन्छ। बाल्यकालमै गम्भीर रोगले उनलाई सताएको थियो। रोगको कारण उनका बाबुले उनलाई भिक्षु संघमा पठाए, जहाँ उनले धम्म शिक्षा लिन थाले। संघमा रहँदा उनले गहिरो अध्ययन गरे, बौद्ध दर्शनका सिद्धान्तलाई आत्मसात गरे, र पछि धम्म प्रचारक बने।
उनको बाल्यकालको नाम कुङ थियो। गम्भीर स्वास्थ्य समस्या भएकै कारण उनलाई प्रारम्भिक उमेरमै भिक्षु बनाइएको थियो। भिक्षु संघमा प्रवेश गरेपछि फाहियानले त्रिपिटकका ग्रन्थहरूको अध्ययन गरे। अध्ययनकै क्रममा उनले बौद्ध ग्रन्थहरू अपूर्ण रहेको महसुस गरे। यसले उनलाई नयाँ सोचतर्फ प्रेरित गर्यो—यानी, ती ग्रन्थहरू खोजी गर्न र पूर्ण बनाउन यात्रामा निस्कने
फाहियानको यात्रा प्रारम्भ
सन् ३९९ मा फाहियानले आफ्नो यात्राको सुरुवात गरे। चीनको चाङआनस्थित बिहारमा उनले तावचिङ, हेकिङ, हेइङ र हेवेई नामका चार अन्य भिक्षुसँग भेट गरे। पाँचै जना भिक्षुहरूले बौद्ध ग्रन्थहरूको खोजी र धम्म प्रचारका लागि भारत उपमहाद्वीपको यात्रा गर्ने योजना बनाए।
यो यात्रा केवल धम्म प्रचारको उद्देश्यले मात्र नभई तत्कालीन समाजको अध्ययनका लागि पनि महत्त्वपूर्ण थियो। फाहियानको यात्राले प्राचीन सभ्यता, संस्कृतिहरूको गहिरो अध्ययन गर्न अवसर प्रदान गर्यो।
